spot_img
Homeप्रदेशअस्ताए ‘जिउँदा सहिद’ मुकेश

अस्ताए ‘जिउँदा सहिद’ मुकेश

दोस्रो जनआन्दोलनमा मुकेश पनि सहभागी भए । आन्दोलनकारीलाई दबाउन प्रहरी र सेनाले पानीको फोहोरा, लाठी, अश्रुग्यास, रबरको गोली मात्र होइन, गोली नै चलाए । त्यहीँको गोली कलिला मुकेशको कञ्चटमा लाग्यो ।

काभ्रे — हरेक बिहानझैं मीरा कायस्थ छोरालाई ‘बाबु, मुकेश उठ’ भन्थिन् । आमाले बोलाएपछि मुकेश पुलुक्क हेर्थे । बिहीबार बिहान पनि मीराले मुकेशलाई बोलाइन् । तर, उनले अरू दिनजस्तो पुलुक्क हेरेनन् । ‘बाबु, उठ, मुकेश– बाबु उठ त’ भनिन् ।

मुकेशलाई अँगालो हालिन् । गालामा माया गरिन् । स्नेह देखाइन्, स्पर्श गरिन् । उनका सामु रोइन्, कराइन् । न त मुकेश उठे, न त मीरालाई पुलुक्क हेरे नै ।

मुकेश कहिल्यै नउठ्ने गरी निदाएका छन् भन्ने कुरा मीरालाई थाहा छ । तर, आमाको माया र स्नेहले मुकेशलाई पटक–पटक बोलाइरह्यो । मुकेशले ‘मम्मी’ भनेर बोलाएको शब्द सुन्न मीराले १७ वर्षदेखि कुरेर बसेकी थिइन् । मुकेशले ‘मम्मी’ भनेर बोलाएको अब मीराले सुन्न पाउँदिनन् । मुकेशले ‘मम्मी’ भनेको शब्द मीराले सुन्न नपाउँदै उनी अस्ताए । दोस्रो जनआन्दोलनमा ढलेका मुकेश उठ्नै सकेनन् ।

१७ वर्ष, १ महिना अघि (२०६२ चैत २७ गते) मुकेशको उमेर १४ वर्ष थियो । उनी कक्षा ८ मा पढ्थे । अन्तिम परीक्षा सकेर फुर्सदको समयमा थिए । त्यो समयमा देशमा २०६२/६३ को जनआन्दोलन चरमोत्कर्षको समय थियो । बनेपा–४ का भीमसेन दाहाल सुरक्षाकर्मीको गोलीबाट ०६२ चैत २६ गते पोखरामा मारिए । दाहालको मृत्युपछि काभ्रे झन् आन्दोलित बन्यो । मुकेश पनि आन्दोलनमा सहभागी भए । प्रतिगमनविरुद्धको आन्दोलनमा आन्दोलनकारीलाई हताहत तुल्याउन प्रहरी र सेनाले पानीको फोहोरा, लाठी, अश्रुग्यास, रबरको गोली मात्र होइन, गोली नै चलाए । त्यहीँको गोली कलिला मुकेश कायस्थको कञ्चटमा लाग्यो । त्यो दिन ०६२ चैत २७ गते थियो । गोली लागेर गम्भीर घाइते भएका मुकेशलाई उपचारका लागि शिर मेमोरियल अस्पताल लगियो । त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंका विभिन्न अस्पताल पुर्‍याइयो । त्यसरी गोली लागेर ढलेका मुकेश उठ्नै सकेनन् ।

बुबा कृष्णमान र आमा मीरा कायस्थका एक्लो छोरो हुन्, मुकेश । उनको स्वास्थ्य स्थिति सुधारका निम्ति कुनै कसर बाँकी राखेनन् । मुकेशलाई बचाएर सद्धे भएको देख्न अनेक हन्डर खेपे । दम्पतीले १७ वर्षसम्म पनि आस मारेनन् । छोरा कुरेरै बसे । यस अवधिमा नेपालको राजनीतिमा धेरै घटना, परिघटना भए । मुलुकमा क्रान्तिबाट शान्तिमा परिणत मात्र भएन, राजतन्त्र ढलेर संघीय लोकतान्त्रिक गणतन्त्र बन्यो । राज्य सञ्चालन गर्ने धेरै पात्र फेरिए । तर, मुकेशको स्वास्थ्य अवस्था ६ हजार २ सय ३५ दिन अर्धचेतमै बित्यो । उनलाई ‘जिउँदो सहिद’ भनियो । जीवन र मृत्युसँगको लडाइँ लडिरहे । अन्ततः २०८० वैशाख २७ गते साँझ ६ः१३ बजे मुकेशले जीवनसँग हार खाए ।

गणतन्त्र ल्याउन योगदान पुर्‍याउने जिउँदो सहिद ढल्दा सिंगो काभ्रे स्तब्ध भएको छ । ‘मेरो बाबु साथमा छैन, तर आज मलाई त्यो दिनको घटनाले झस्काइरहेको छ,’ आमा मीराले भनिन्, ‘जुन दिन जनआन्दोलनका लागि बनेपामा मानिसहरू उर्लिएका थिए, आज मलाई त्यही दिनको सम्झना भएको छ, जनआन्दोलनमा होमिएर कति सहिद भए, कति घाइते भए, उनीहरूको सपना सबै मिलेर पूरा गर्नुपर्छ ।’ सबैका साथ सहयोगले १७ वर्षसम्म छोरा मुकेशको राम्रो स्याहार गर्न पाएको सुनाइन् ।

सरकारले जनआन्दोलनका गम्भीर घाइते मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेका लागि ६ हजार २ सय भत्ता र एक नर्स उपलब्ध गराएको थियो । सरकारले २०७८ सालमा गठन गरेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको मूल्यांकन गर्दै मुकेशलाई ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो ।

मुकेशको पढाइको सुरुवात बनेपाको विद्यासागर स्कुलबाट भयो । प्रधानाध्यापक हीरा शर्मा नेपाल नर्सरी कक्षामा पढ्न आएका मुकेश पहिलो दिन निकै रोएको सम्झिन्छन् । ‘मुकेशलाई पुर्‍याउन हजुरबुबा आउनुभएको थियो,’ उनी भन्छन्, ‘मुकेश पढ्न नमानेर निकै बेर रोएको थियो । त्यतिखेर ऊ (मुकेश) रुँदै स्कुल आएको थियो, आज हामी सबैलाई रुवाएर गएको छ, विद्यालयले एउटा हीरा गुमाएको छ ।’ मुकेश पढाइमा मध्यम खालको थियो । सांस्कृतिक कार्यक्रममा खुबै रुचि राख्थ्यो । विद्यालयमा हुने कार्यक्रममा मुकेशले विशेष गरेर बाजा बजाउँथ्यो । मुकेश प्रकृतिसँग रमाउन स्वभावको थियो । उनलाई कुकुर साह्रै मन पर्थ्यो । विद्यालय आउँदा पनि कुकुर लिएर आउँथ्यो ।

अब मुकेशको केवल सम्झना मात्र बाँकी प्रधानाध्यापक नेपाल बताउँछन् । जनआन्दोलनमा मुकेश गम्भीर घाइते भएपछि उनलाई चिनाउन विद्यालयमा प्रत्येक वर्ष कार्यक्रम गर्ने गरिएको छ । मुकेश अर्धचेत अवस्थामा रहेको बेला विद्यालयमा मुकेशको जन्मदिन मनाउने गरिन्थ्यो । विद्यालयको पहलमा मुकेश कायस्थ फाउन्डेसन सञ्चालन गरिएको प्रधानाध्यापक नेपालले जनाए । ‘अब मुकेश अब हामीमाझ छैनन्,’ उनको निधनले विद्यालय परिवार दुःखी भएको उल्लेख गर्दै उनले भने, ‘मुकेशको नाममा अब फाउन्डेसनले केही नयाँ काम गर्नेछ ।’

मुकेशका साथी उज्ज्वल प्रधानलाई ‘गाँस छोड्नु तर साथ कहिल्यै नछोड्नु’ भन्ने उखानले मर्माहित बनाएको छ । कारण, उज्ज्वलले आफ्नो बालसखा मुकेशलाई गुमाएका छन् । मुकेशको बाल्यकालदेखिकै साथी हुन्, उज्ज्वल । एउटै स्कुल, एउटै कक्षा, एउटै बेन्च पार्टनर थिए, मुकेश र उज्ज्वल । ‘स्कुल बिदा भएलगत्तै हामी घुम्न जान्थ्यौं,’ उज्ज्वल स्मरण गर्छन्, ‘पोखरीमा पौडी खेल्न गइन्थ्यो, मुकेशलाई पौडी खेल्न खुब मन पर्थ्यो । जहाँ जाँदा पनि हामी साथै जान्थ्यौं, तर अब त्यो साथ छुट्यो ।’

हरपल सँगै रहने उज्ज्वल र मुकेश २०६२ चैत २७ गतेको जनआन्दोलनको घटनामा पनि सँगै थिए । उज्ज्वलका अनुसार साँझको समय थियो । ‘हामीसँगसँगै थियौं, प्रतिगमनविरुद्धको आन्दोलनका क्रममा मुकेश बनेपाको तीनदोबाटोतर्फ लागे, म भने बसपार्कतर्फ लागेँ,×’ उनले भने, ‘गोली चलेको आवाज सुनियो, सबै भागाभाग भएका थिए । एकैछिनमा मुकेशलाई गोली लाग्यो भन्ने खबर सुनें । मुकेशलाई शिर मेमोरियल अस्पताल लगिएको छ भन्ने सुनेर त्यतै लागें । अस्पताल नपुग्दै मुकेश हामीमाझ छैनन् भन्ने पनि सुनें । तर अस्पताल पुगेपछि त्यो खबर गलत भएको प्रस्ट भयो । मुकेशलाई शिरमा उपचार सम्भव नभएपछि काठमाडौंका अस्पताल लगियो ।’ त्यसपछि मुकेश बाँचे पनि बालसखाबीच सहयात्रा हुन नसकेको उज्ज्वल बताउँछन् ।

मुकेशले मुलुकमा गणतन्त्र स्थापना गर्नका लागि पुर्‍याएको योगदानलाई कदर गर्दै मुकेशलाई सहिद घोषणा गर्न बनेपा नगरका विभिन्न दलले माग गरेका छन् । मुकेश फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत मोहन दुवालले मुकेशलाई राष्ट्रले सहिद घोषणा गर्नुपर्ने बताए । त्यसैगरी प्रदेश सरकारले मुकेशको नाममा आन्दोलनमा घाइतेलाई सम्मान कार्यक्रम स्थापना गर्नुपर्ने र स्थानीय सरकारले मुकेशको सालिक स्थापनासँगै अहिले बनिरहेका स्वास्थ्य संस्थाको भवन मुकेशको नाममा सञ्चालन हुनुपर्ने मागसहितको ज्ञापनपत्र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई बुझाएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ‘जिउँदो सहिद’ रूपमा चिनिएका दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थ युगौंयुगसम्म बाँचिरहने बताएका छन् । मन्त्री मोदीले बुधबार साँझ निधन भएका मुकेशको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । ‘१७ वर्षसम्म अर्धचेत अवस्थामा रहेका जिउँदो सहिद मुकेश एउटा राष्ट्रको गहनाका रूपमा थिए,’ मन्त्री मोदीले भने, ‘मुकेशले गणतन्त्र स्थापनाका लागि पुर्‍याएको योग्दान प्रशंसनीय छ, त्यसकारण पनि उनी हामीमाझ रहिरहनेछन्, युगौंयुगसम्म बाँचिरहनेछन् ।’

नेपाल प्रहरीले शोक धुन बजाएर राष्ट्रिय सम्मानसहित बिहीबार दिउँसो ३ बजे बनेपा नगरपालिका–७ स्थित उग्रतीर्थ घाटमा मुकेशको अत्येष्टि गरिएको हो । उनका बुबा कृष्णमान कायस्थले दागबत्ती दिएका थिए । सरकारका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राष्ट्रिय झन्डा ओढाई सम्मान अर्पण गरेका थिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, गृह सचिव दिनेश भट्टराई, संघीय सांसदहरू गोकुल बाँस्कोटा, सूर्यमान दोङ, मीना तामाङ, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा उपस्थित थिए । यसैगरी प्रदेश सांसद लक्ष्मण लम्साल, कञ्चनचन्द्र बादे, रत्नप्रसाद ढकाल, जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतम, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, विभिन्न स्थानीय तहका जनप्रतिनिधिलगायतले मुकेश कायस्थलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । बनेपा नगरपालिकाले मुकेश कायस्थको निधनप्रति बिहीबार शोक बिदा दिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments