spot_img
Homeराष्ट्रियसगरमाथामा साइपालकी चेली

सगरमाथामा साइपालकी चेली

बझाङको साइपाल गाउँपालिका–४ धुलीकी संगीता रोकाया छाउपडी प्रथाको अन्त्यको सन्देशसहित विश्वको सर्वोच्च शिखर पुगेकी हुन् । उनी सगरमाथाको टाकुरोमा पाइला राख्ने पहिलो बझाङी हुन् ।

बझाङ — मनास्लु हिमालको क्याम्प ३ बाट गत सेप्टेम्बरमा फर्किएकी थिइन्, संगीता रोकाया । शिखर चुम्ने सपनासहित त्यहाँ पुगेकी साइपाल गाउँपालिका–४, धुलीकी उनलाई मौसमले साथ दिएन ।

ठूलो हिमपहिरोका कारण आरोहणमा गएका केही पर्वतारोहीले ज्यान गुमाए । कोही घाइते भए । आफ्नै आँखाले यस्ता दृश्य देखेर बीचबाटै फर्किनुपर्दा २६ वर्षीया संगीताको मन विचलित भयो ।

‘एक मनले त यस्तो जोखिमपूर्ण कामको पछि नलागौं कि भनेर पनि नसोचेको होइन । तर पाँच वर्षदेखि साँचेको सपना र गरेको लगानीले मलाई फर्किन दिएन,’ संगीता भन्छिन्, ‘सबै काम छाडेर यत्रो समय हिमालकै पछि लागियो । हार खाएर फर्कियो भने अरूले के भन्लान् जस्तो पनि लाग्यो । आफैंले आफूलाई ढाडस दिएँ । आखिर आँट गरे सफल भइँदोरहेछ ।’ पायोनियर एडभेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै सगरमाथामा पाइला टेकेकी हुन् उनले ।

सगरमाथा क्षेत्रमा झन्डै महिना दिनको बसाइ भयो । सुरुमा बेसक्याम्प पुगेकी उनी उचाइ पचाउनका लागि क्याम्प १ र २ मा तलमाथि गरिन् । शिखर चढ्न सक्छु भन्ने आँट पहिल्यै थियो । यो अभ्यासले उनको साहसलाई थप भर दियो । जेठ २ गते राति उनको टोली क्याम्प ४ बाट शिखरतर्फ प्रस्थान गर्‍यो । सयौं आरोही शिखर छुन लामबद्ध थिए । कोही बिरामी भएर फर्किंदै थिए । कोही बिरामी परेका खबर संगीताको कानमा ठोकिन्थ्यो । तर उनको आत्मविश्वासले भन्थ्यो ‘शिखर चुमेरै छाड्छु ।’

‘अगाडि बढ्दै जाँदा उनका खुट्टा गल्न थाले । सास बढ्दै गएको देखेर सहयोगी शेर्पाले तिमी सक्दैनौं । यहींबाट फर्क भन्न थाल्यो ।’ सगरमाथा आरोहण गर्ने दिन भएका घटनाको बयान गर्दै उनी भन्छिन्, ‘मेरो दिमागमा जसरी पनि माथि पुग्नुपर्छ भन्ने थियो । म नसुनेझैं गरेर अघि बढिरहें । उसलाई कुनै जवाफ नै फर्काइनँ ।’ सहयोगीले दुई पटक फर्किन कर गर्दा पनि नमानेको उनले सुनाइन् । ‘मलाई जस्तो समस्या भए पनि चढ्न सक्छु भन्ने विश्वास थियो । शेर्पाले फर्किन जिद्दी गरेको देख्दा रिस पनि उठ्यो,’ उनले भनिन् ।

जेठ ३ गते दिउँसो साढे १२ बजे अन्ततः उनी लक्ष्य चुम्न सफल भइन् । वर्षौंदेखि साँचेको सपना जब उनले आँखै अगाडि देखिन् । उनका आँखा शान्त रहन सकेनन् । ‘खै किन हो ? चुचुरोमा पुग्नेबित्तिकै भक्कानो फुटेर आयो । धेरैबेरसम्म आँसु थाम्न सकिनँ । मैले सपना देखिरहेकी छु कि साँच्चै हो ? भनेर कन्फ्युज भएँ,’ शिखर चुम्दाको पल स्मरण गर्दै उनले भनिन् । ‘छाउपडी प्रथा अन्त्य गरौं,’ भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्बिर खिच्दा पनि उनको खुसी आँखाबाट पोखिन बन्द भएको थिएन । ‘जीवनको लक्ष्य भेट्टाएँ भन्ने खुसीले होला । मन अर्कै भयो,’ उनले भनिन् ।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको टाकुरमा पाइला राख्ने उनी पहिलो बझाङी हुन् । संगीताले सगरमाथाको चुचुरोमा टेकिनन् मात्रै, हिमाल आरोहणको क्षेत्रमा जिल्लाको नाममा पहिलो खाता पनि खोलिन् । उनको सफलता जिल्लावासीका लागि पनि खुसी हुने बहाना बनेको छ । बझाङका प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीले सदनमै बोलेर बधाई पनि दिए संगीतालाई । सामाजिक सञ्जालमा पनि बधाई दिनेको लर्को नै लागेको छ ।

सगरमाथाको चुचुरो चुम्ने यी साहसी महिलाको सफलताको हल्ला जति भएको छ । उनले त्यहाँसम्म पुग्न गरेको संघर्षको कथा भने धेरै कमलाई मात्रै थाहा छ । क्षेत्रफलका हिसाबले नेपालकै ठूलो साइपाल गाउँपालिकाकी बासिन्दा हुन् संगीता । उनको गाउँ धुली बझाङ जिल्लाको उत्तरी क्षेत्रको अन्तिम मानव बस्ती हो । सदरमुकामबाट त्यहाँ पुग्न अहिले पनि चार दिन पैदल यात्रा गर्नुपर्छ । छाउपडी प्रथा, बालविवाह जस्ता ‘महिलाद्वेषी’ चलनहरू अहिले पनि व्याप्त छन् त्यहाँ ।

हिमालकै काखमा खेलेर हुर्केकी भए पनि हिमाल, त्यो पनि सगरमाथा चढ्ने सपना देख्ने छुट थिएन उनलाई । कारण उनी छोरी हुन् । यद्यपि उनले साहस जुटाइन् । परिवारका सदस्यहरूको इच्छाविपरीत बझाङकै साइपाल हिमाल चढ्ने एउटा अभियानमा जोडिइन् । अभियानअन्तर्गत उनले २०७५ कात्तिकमा अन्य ४ जना बझाङी चेलीसँग साइपाल हिमाल (७०३१ मि.) आरोहणको प्रयास गरेकी थिइन् । टिममा स्पेन, इटाली, अमेरिकाका विख्यात आरोहीहरू पनि थिए ।

यद्यपि साइपाल छुने त्यो प्रयास असफल भयो, तर उनको हिमाल चढ्ने हुटहुटी भने झन् बढ्यो । शिक्षा र चेतनाका हिसाबले पनि पिछडिएको मानिने साइपालकी चेलीका लागि यो काम जटिल थियो । साइपाल चढ्न खोज्दा नै उनलाई परिवार र समाजले रोक्न खोजेको थियो । उनले निकै सम्झाउनुपरेको थियो त्यो बेला । ‘साइपाल चढ्न नसके के भयो, सगरमाथा चढेर देखाउँछुभन्दा घरकालाई मनाउन झन् धेरै मिहिनेत गर्नुपर्‍यो,’ संगीता भन्छिन्, ‘गाउँमा साइपाल चढ्न नसक्नेले सगरमाथाको फुर्ती लाउँछे भनेर कुरा काट्ने पनि थिए । तर अन्तिममा बुबाले मान्नुभयो । बुबाकै सहयोगले यो सम्भव भएको हो ।’

मध्यम आयस्रोत भएको परिवारकी सदस्य उनलाई सगरमाथा चढ्नभन्दा बढी दुःख त त्यसका लागि लाग्ने खर्च जुटाउन भयो । त्यसका लागि उनी जिल्लाभरका पालिकादेखि विभिन्न संघसंस्था धाइन् । कतिले सहयोग पनि गरे, तर अधिकांशले त पछि गरौंला भन्दै टारे । अन्ततः उनकै बुबाले एडभेन्चर कम्पनीलाई आधा रकम पछि तिर्ने सर्तमा छोरीलाई सगरमाथा पुर्‍याउन सहमत गराए । करिब २५ लाख खर्च लागेको बताउँदै उनले केही रकम तिर्नै बाँकी रहेको सुनाइन् ।

आरोहण यात्राका पछाडि थुप्रै आरोह अवरोहका कथा छन् । तर पाँच वर्षको संघर्षपछि सफलता चुमेकी संगीता भने अब हिमाल आरोहणकै क्षेत्रमा काम गर्न हौसिएकी छन् । उनले जिल्लाका लागि मात्रै नभई देशकै लागि आरोहणको क्षेत्रमा केही नयाँ गर्ने सोच पलाएको सुनाउँदै भनिन्, ‘यो सफलताले मलाई संघर्ष गर्न सिकाएको छ । आउने दिन चुनौतीपूर्ण होलान्, तर अब यही क्षेत्रमा केही गर्ने सोच बनाएकी छु,’ उनले भनिन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments